---
Wednesday, July 8 2020, 06:26 | बुधबार २४, असार २०७७ ०६:२६
खुला सिमाबाट आउनेको उचित ब्यवस्थापन नहुनु कमजोरी : पूर्व स्वास्थ्य सचिव उप्रेती

शुक्रबार, २३ जेठ २०७७| शेर बहादुर शाह
खुला सिमाबाट आउनेको उचित ब्यवस्थापन नहुनु कमजोरी : पूर्व स्वास्थ्य सचिव उप्रेती

अत्तरिया २०७७जेष्ठ २३ गते शुक्रबार- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व स्वास्थ्य सचिव तथा स्वास्थ्य विज्ञ डा। सेनेन्द्र राज उप्रेतीले पछिल्लो समयमा कोरोना संक्रमितको संख्या वृद्धि हुँदै जानु दुःखद र चिन्ताजनक रहेको बताए । सुदुरपश्चिम प्रदेशको प्रबेशद्धार अत्तरियामा रहेको सामुदायिक रेडियो प्रदेश सेभेनको लोकप्रिय कार्यक्रम प्रदेश बहसमा पत्रकार शेर बहादुर शाह संग कुराकानी गर्दे उनले सरकारले लगातार लकडाउन गर्दै जाँदा पनि संक्रमितको संख्या बढ्नु राम्रो नभएको धारणा राखे । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि गरेका कार्यहरु अप्रभावकारी नभएको बताउँदै केही कमी कमजोरी भने रहेको उनको भनाइ छ । विशेष गरेर नेपाल(भारतको खुल्ला सिमाबाट भित्रिएका नागरिकहरुको स्वास्थ्य परीक्षण गर्न नसक्नु कमजोरी रहेको उनको धारणा छ । खुला सिमाना नियमन तथा त्यहाँबाट आउनेको स्वास्थ्य परिक्षण गरी व्यवस्थापन गर्न सकेको भए कोरोना गाउँ गाउँमा नपुग्ने उनले बताए । 

कोरोना परीक्षणको विधि र परीक्षणको दायरा समेत बढाउनुपर्ने डाक्टर उप्रेतीको सुझाव छ । यसो नहुँदा संक्रमितको संख्या बढ्दै गएको बताए । कोरोनाका कारण धेरै त्रासमा भने रहन नहुने उनको भनाइ छ । कोरोना नियन्त्रणमा रहेका कमी कमजोरीलाइ सच्याएर अघी बढ्न सके कोरोना महामारीलाई जित्न सकिनेमा उनको जोड  छ । उनले आरडीटी परीक्षणको विषयमा धेरै कुरा उठिरहेको बताउँदै सरकारले अहिले केहि नहुनु भन्दा आरडिटी टेष्ट मात्र भए पनि गर्ने गरेको बताए । आरडीटी टेष्ट प्रभावकारी छ छैन भन्ने कुरामा अझै प्रष्ट नभएको बताउँदै यदि प्रष्ट नभए टेष्ट गर्नुको औचित्य नरहने समेत उनले बताए । 

तेस्रो मुलुकबाट समेत अलपत्र नागरिकको उद्धारको समेत तयारी भैरहेको बताउँदै सरकारले भारतबाट आएका नागरिकको व्यवस्थापनमा के कस्तो समस्या रहेको छ भनी जानकार भैसकेको बताउँदै अब सोही  कमीकमजोरीलाई सच्याएर अघि बढ्नु पर्ने र तेस्रो मुलुकबाट आउने नागरिकको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा अझै उच्च संख्यामा कोरोनाको संक्रमण नरहेको बताउदै अहिलेको तुलनामा संक्रमण बढ्दै जाने हो भने नेपालमा पनि संक्रमितको संख्या उच्च भएर कोरोनाको कारण भयावह अवस्था आउनेमा सजग पारे । कोरोनाका कारण देश लकडाउनमा रहेको कारण सामान्य स्वास्थ्य उपचारमा समेत समस्या रहेको उनको भनाइ रहेको छ । कोरोना त्रासमा रहेर केहि स्वास्थ्य क्षेत्रहरुले आधारभुत स्वास्थ्य सेवाबाट पनि जनतालाइ बञ्चित गरिरहेको उनको गुनासो छ । साथै उनले आम जनतालाइ आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित गर्न नपाइने बताउदै सेवा प्रदान गर्न सबै स्वास्थ्य संस्थाहरुलाई आग्रह गरे । उनले कोरोनाको महामारीसंग जुझ्नका लागि सबैले आफ्नो स्तरबाट सहयोग गरिदिन पूर्व स्वास्थ्य सचिव डाक्टर उप्रेतीले सबैमा आग्रह समेत गरे ।


शुक्रबार २३, जेठ २०७७ ०४:०४ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस